२०८१ बैशाख ८ , शनिवार

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन हुने

सुनाखरी न्युज/ काठमाडौं । दशैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ ।

 

व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नै नियमित पसलबाटै सुपथ पसल सञ्चालन गर्ने छन् ।

 

काठमाडौं उपत्यकाभित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्यविनायकबाट खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने छ । साल्ट्र ट्रेडिङले कालिमाटी, सतुङ्गल, जावलाखेल, जडिबुटी र भक्तपुरबाट सुपथ पसल सञ्चालनमा ल्याउनेछ । दशैँका लागि खाद्यले ६ करोड ४० लाखको खसी–बोका ल्याउने जनाएको छ । अहिले साल्ट ट्रेडिङले उपत्यकाभित्रका ६ वटा विक्री केन्द्रबाट नियमित खाद्यान्न दाल, चामल, नुन, तेल, गेडागुडी, ग्यास बिक्री गर्दै आएको छ ।