२०८१ बैशाख १३ , बिहिवार

स्थानीय तहले  कालोबजारी रोक्न बढी सक्रियता देखाउनु पर्छः मन्त्री बडू

सुनाखरी न्युज/ काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चाडपर्वको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रवार संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा बोल्दै मन्त्री बडूले चाडवाडमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताए ।

 

उनले चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यवृद्धि रोक्नको लागि संघ, प्रदेश र स्थानीय तहले प्राथमिकता दिएर बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री बडूले बजार अनुगमनको लागि अहिले स्थानीय तह र प्रदेश सरकारलाई कानूनी समस्या नरहेको बताए । उनले प्रदेश सरकारलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६३ ले अनुगमन सम्बन्धि कानून बनाउने अधिकार दिएको बताए ।

मन्त्री बडूले उक्त ऐन अनुसार प्रदेश सरकारले बजार अनुगमन समिति बनाएर अनुगमन गर्नुपर्ने बताए । उनले स्थानीय तहले बजार अनुगमन गरेमात्रै प्रभावकारी हुनसक्ने दाबी गरे । उनले स्थानीय बजारको अनुगमनमा स्थानीय तह नै सक्रिय हुँदा अनुगमन गरेको जनताले अनुभुति गर्ने बताए ।

उनले सरकारले दुई पटक देशभर एकसाथ अनुगमन शुरु गरेको अनुभवले पनि स्थानीय तहको नै बजार अनुगमनमा क्रियाशीलता आवश्यक रहेको उल्लेख गरे ।