२०८१ बैशाख ६ , बिहिवार

पिपुल्स पावरको आईपीओ बाँडफाँड आइतबार

सुनाखरी न्युज/ काठमाडौं । पिपुल्स पावर लिमिटेडको प्रारभिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ १२ गते आइतबार दिउँसो २ बजेपछि बाँडफाँड गरिने भएको छ ।

 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ बाँडफाँड क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजेपछि गर्ने समय निर्धारण गरिएको हो । उक्त आईपीओमा अन्तिम दिनसम्म परेको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीओमा सेयर भरेका ८५ प्रतिशत बढी अर्थात १३ लाख ७६ हजार ६४२ जनाको हात खाली हुनेछ । आईपीओ हात पार्ने संख्या कुल २ लाख २९ हजार ४६८ रहेको छ । सोमध्ये २ जनाले ११ कित्ता र बाँकी २ लाख २९ हजार ४६६ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेछन् ।

 

सर्वसाधारण भन्दा माग भएको सेयर संख्याको तुलनामा ७.९४ गुणा बढी आवेदन परेका कारण आईपीऋो बाँडफाँड धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले हुनेछ । आईपीओमा कुल १६ लाख ६ हजार ११० वटा आवेदन मार्फत कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयर माग भएको छ ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

 

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ । पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ ।