२०८१ बैशाख १३ , बिहिवार

गुठीको जग्गा हडपेको आरोपमा ३१ जना विरुद्ध मुद्दा

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गा हडपेको आरोपमा पूर्व राजा ज्ञानेन्द्रका भिनाजु स्वर्गीय खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

आयोगले धनुषाको पिँडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा सारेको भन्दै उक्त कार्यमा संलग्न मालपोत कार्यालयका तत्कालिन कर्मचारीसहितलाई मुद्दा दायर गरेको हो । मन्दिरको नाममा रहेको ८ बिगाहा १० गठ्ठा जग्गा व्यक्तिको नाममा ल्याउन उति बेला भूमिका खेल्ने र उक्त जग्गा अहिले खरिद गर्नेहरु विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

 

पूर्व राजा ज्ञानेन्द्रकी दिदी शारदाका श्रीमान् खड्गविक्रमको २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डमा निधन भएको थियो । मृत्यु भइसकेका ब्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा नलाग्ने भए पनि आयोगले जग्गा असुलउपर गर्न भन्दै खड्गविक्रमलाई पनि विपक्षी बनाएको हो । अख्तियारका अनुसार खड्गविक्रम शाहका विरुद्ध प्रचलित मूल्य अनुसार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पंजियार, खरिदार जगदेव कामतीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

 

उक्त जग्गा अहिले खरिद गर्ने धनुषा उपमहानगर पालिकाका दिवशविक्रम शाह, विभा कुमारी यादव, राज किशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, राम विपिन साह, सज्ञान देवी, पुष्पा सिंह र लक्ष्मी नारायण मिश्रा विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यस्तै मुद्दा दायर गरिएका अन्य जग्गा खरिदकर्ताहरुमा नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जय कुमार गोईत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुर रहेका छन् ।

https://ciaa.gov.np/uploads//pressRelease/P6rIgd.pdf