२०८१ बैशाख ८ , शनिवार

देशको सुरक्षा र प्रतिरक्षामा सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको सुरक्षा र प्रतिरक्षामा नेपाली सेनाले गरेको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । ‘कमान्ड सेनापति समन्वयात्मक बैठक–२०७९’ को उद्घाटन गर्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

 

सैनिक मुख्यालयमा जंगी अड्डामा आयोजित दुई दिने कार्यक्रममा प्रधानमन्त्री देउवाले भने,‘देशको सुरक्षा र प्रतिरक्षा जस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।’देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीहरूको इमान्दारिता र कर्तव्य परायणताबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुनुका साथै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिए ।

 

नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवद्र्धधन गरी मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने तथा सुरक्षासम्बन्धी विषयमा नीति निर्माण तहमा रहेका सबैको समान बुझाइ विकास गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवं सञ्चालनको कार्यलाई अगाडी बढाइएकोसमेत बताए । यस्तै, प्रधानसेनापति प्रभुराम शर्माले शान्तिको समयमा सञ्चालन भएका विभिन्न तालिम एवं अभ्यासहरुले नै आपत्कालीन परिस्थितिमा सहजतापूर्वक कार्य गर्न सकिने भएकोले नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरु सञ्चालन गर्दै आइरहेको बताए ।

 

प्रधानसेनापति शर्माले नेपाली सेना मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रहरुको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराए । शर्माले सामरिक महत्त्वका तालिमहरु सञ्चालन गर्न आवश्यक साधारण तथा समन्वयात्मक विषयमा नेपाली सेनाको प्रोसेफसनल अटोनोमी (व्यवसायिक स्वतन्त्रता) कायम राख्न नेपाल सरकारबाट आवश्यक पहलकदमी हुने विश्वाससमेत व्यक्त गरे ।रक्षा सचिव, जंगी अड्डा पी.एस.ओज. रथीबृन्द, चारवटै कमान्डका कमान्ड सेनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र अवस्थित बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिति रहेको थियो ।