२०८१ बैशाख १३ , बिहिवार

राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्रेरितः सत्ता गठबन्धन

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित भएको  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताएका छन् ।

 

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिले गरेको भेटवार्ता र राजीनामा दिने चर्चाबारे छलफल भएको स्रोतको दाबी छ ।

 

एक सहभागीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका थिए ।

 

त्यही क्रममा राष्ट्रपतिको भेटवार्ताको विषय प्रवेश भयो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले गरेको भेटवार्ता असंवैधानिक भएको बताए ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको सक्रियता अस्वभाविक भएको बताए । २०६३ सालमा नागरिकतासम्बन्धी कानुन बनाउँदा वर्तमान राष्ट्रपति भण्डारी समेत सहभागी भएकाले विरोध गर्नुको अर्थ नभएको बताए ।

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिको सक्रियतामा असन्तुष्टि जनए भने गृहमन्त्री बालकृष्ण खाँणले विधेयकबारे बुझाउन आफूले गरिरहेको कामबारे ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेता भन्छन्, ‘राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्ररित छ भन्ने सबैको धारणा थियो ।’