२०८१ बैशाख ७ , शुक्रवार

अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा पोखरेली अभिषेक चौंथो चरणमा

सुनाखरी न्युज/ पोखरा । पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङ अन्र्तगत चौथो चरणमा प्रवेश गरेका छन् । उनी शुक्रबार अमेरिकाका म्याक्सवेल सेल्डोनसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

बाँस्तोलाले यसअघि एक खेलमा जित निकालेका थिए भने एक खेलमा पराजय व्यहोरेका छन् । बिहीबार राति भएको तेश्रो चरणाको खेलमा उनले अमेरिकन खेलाडी जे.ट्रन्ड्सनलाई ४–६,६–० र ६–२ ले पराजित गरे । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग ६–०,६–२ को सेटमा पराजित भएका थिए । प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् ।

यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् । १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । ‘प्रतियोगिताका सहभागि खेलाडीहरु म भन्दा माथिल्लो स्तरका छन्, उनीहरुसंग प्रतिस्पर्धा गर्न पाउँदा मेरो स्तर झनै सुधारिने विश्वास लिएको छु’–बास्तोलाले भने ।