२०८१ बैशाख १३ , बिहिवार

एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले आज बुधबार थापाथली स्थित क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा साधारणसभा सम्पन्न गरेको हो ।

 

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु.११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ.व. २०७८÷०७९ मा रु.१२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.३९ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराएका थिए । उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकहरुबाट रु.१ अर्व ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए । साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।

 

क्यापिटलले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । क्यापिटलले काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको जनाएको । क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एयिशा बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डमा Systematic Investment Plan (SIP) र Systematic Withdrawal Plan (SWP) संचालन गर्न लागेको जनाएको छ ।

 

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसय पत्र प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत Private Equity/Venture Capital (PE/VC) सेवा प्रदान गर्ने योजना रहेको उल्लेख गरेको छ ।