२०८१ बैशाख ६ , बिहिवार

अपराध अनुसन्धान एवम् न्याय निरूपणमा प्रदेश, संघीय र स्थानीय तहको भूमिका महत्वपूर्ण : गृह मन्त्रीखाण

सुनाखरी न्युज/ काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताउनुभएको छ ।

 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृह मन्त्री खाणले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गर्नुभयो । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पुरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्नुका साथै स्रोत साधन एवम् क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

 

अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानूनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न समीक्षा गोष्ठीमा हुने छलफल महत्वपूर्ण रहने बताउँदै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाको कार्य गर्न तथा जनतामा नयाँ उत्साह भर्न र अपराधमा संलग्न व्यक्तिहरूलाई अपराधिक क्रियाकलापबाट पछि हट्ने अवस्था सिर्जना गर्न समेत गोष्ठीले महत्वपूर्ण निचोड एवम् निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कोभिड-१९ को महामारी नियन्त्रणको साथै प्रकृतिक विपद्को समयमा पीडितहरूको उद्दार लगायतका गतिविधिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिई निभाएको भूमिकाको प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा महान्यायाधिवक्ता खम्म बहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा यस गोष्ठीमा हुने छलफल, विश्लेषण महत्वपूर्ण हुने चर्चा गर्दै गोष्ठीको प्रतिवेदनलाई कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताउनुभयो । अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गर्दै आईरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि अपराध अनुसन्धनामा सरोकारवाला निकाय एवम् स्थानीय तहसँग सहकार्य तथा समन्वय गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

 

गोष्ठीमा गृह सचिव टेक नारायण पाण्डेले अपराध नियन्त्रणमा देखिएका चुनौतिहरूलाई यस गोष्ठीबाट आउनु निचोड तथा विश्लेषणहरूले आगामी दिनमा नीति निर्माण गर्न आवश्यक राय सुझाव प्राप्त हुने बताउनुभयो । बदलिदो अपराधको स्वरूपका घटनाहरूको बिश्लेषण गोष्ठीमा हुने उल्लेख गर्दै उहाँले अपराध नियन्त्रणमा सबै सुरक्षा निकायसँग सहकार्य र समन्वय हुनु पर्ने तथा अनुसन्धान गर्ने निकायको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । विमानस्थल सुरक्षालाई थप प्रभावकारी बनाउन कार्गो र विमानबाट निस्कने फोहोर मैलालाई स्क्यानर मार्फत चेकजाँच गर्न प्रहरीले समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

 

 

गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराध अनुसन्धान एवम् नियन्त्रणका लागि महानगरभित्र सिसिटिभि क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताउँदै यसले काठमाडौंमा अनाधिकृत रूपमा फालिने फोहोर मैलाको नियन्त्रणमा समेत प्रभावकारी हुने बताउनुभयो । बढ्दो साईबर क्राइम तथा अन्य अपराधका घटनाहरूलाई न्यूनिकरण गर्न सम्बन्धित निकायहरूले ईमान्दारीता पूर्वक भूमिका वहन गरेमा थप सहजता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वर्तमान अवस्थामा अपारध अनुसन्धानको शिलशिलामा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले भोग्नुपरेका समस्याहरू, अनुसन्धान अधिकृतको भूमिका एवम् अधिकारको प्रयोग सन्बन्धी वृहत रुपमा यस गोष्ठीमा छलफल हुने र यस छलफलबाट आउने निष्कर्ष महत्वपूर्ण हुने बताउँदै प्राप्त निष्कर्षलाई प्रतिवेदनको रूपमा तालुक गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा पेश गरिने बताउनुभयो ।

 

 

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले पीडितलाई न्याय दिलाउन तथा अपराध अनुसन्धान एवम् नियन्त्रणमा निष्पक्ष, निर्भय, निडर र निर्धक्क रूपमा प्रमाणमुखी अनुसन्धानमा संलग्न हुन अनुसन्धान अधिकृतलाई निर्देशन दिनुभयो । प्रविधिको प्रयोगमार्फत् हुने आर्थिक एवम् साइबर अपराधहरू बढिरहेको र हाल यस सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मात्र सुनुवाई हुँदै आएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले कम्तिमा प्रादेशिक स्तरमा सुनुवाईको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । फौजदारी न्यायप्रणलीका तीन पिलर अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पिडकले सजाय पाउने उहाँले उल्लेख गर्नुभयो ।

 

गोष्ठीमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला बालबालिका विरूद्ध हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाका हरेक वडा महिला सेलको स्थापनाको लागि आवश्यक कार्य बिधि तयार गरिएको उल्लेख गर्दै गोष्ठीबाट आउने निचोडहरूले अपराध नियन्त्रणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र धानुकले धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका मातहतका कार्यालयलाई अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।

 

कार्यक्रममा अधिकांश वक्ताले बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिनुभयो । अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तर्क्रिया हुनेछ ।