२०८१ बैशाख १३ , बिहिवार

नेकपासँगको सहमति संविधान र विधिअनुसार कार्यान्वयन हुन्छ : गृहमन्त्री खाँण

सुनाखरी न्युज/ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डेढ वर्षअघि भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति संविधान र विधिअनुसार कार्यान्वन गरिने बताएका छन् ।

 

नेपाल प्रहरीले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले नेकपासँग भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपासँग २०७७ फागुन २० मा प्रतिबन्ध फुकुवा, थुनामा रहेका कार्यकर्ता रिहा, मुद्दा फिर्ता लिने ३ बुँदे सहमति गरेको थियो ।

 

तर, अझै सहमतिअनुसार अदालतमा दायर भएका मुद्दा फिर्ता र कार्यकर्ता रिहा नभएको भन्दै चन्द समूह असन्तुष्ट छ । कानुनमै नेगेटिभ सूचीका मुद्दा फिर्ता लिन नमिल्ने प्रावधानका कारण सरकारले अदालतमा परेका नेगेटिभ सूचीका मुद्दाबारे केही निर्णय गरेको छैन । यसप्रति चन्द समूह सरकारसँग असन्तुष्ट छ ।