२०८१ बैशाख ७ , शुक्रवार

दलीय आबद्धता तत्काल त्याग्न शिक्षक र कर्मचारीलाई मेयर बालेनको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन्।

 

आफ्नो फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका क्षेत्रका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता भए तत्काल त्याग्न निर्देशन दिएका हुन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आबद्ध नहुन पनि सचेत गराएका छन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था छ। उक्त कानुन कार्यान्वयन गर्नका लागि अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको (मुद्दा नं. ०७८–ध्इ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९–२–४ मा परमादेशसमेत जारी भएको मेयर साहले स्पष्ट पारेका छन्।

 

काठमाण्डौ महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाण्डौ महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको साहले अवगत गराएका छन्। उक्त कानुनी व्यवस्था तथा सम्मानित उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाण्डौ महानगरपालिकाका साथसाथै प्रत्येक राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व रहेको मेयर साहले उल्लेख गरेका छन्। ‘काठमाण्डौ महानगरपालिकाको कार्यक्षेत्रभित्र सुशासन प्रवर्द्धन गर्नका लागि महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारी कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत हुँदैन’, उनले भनेका छन्।

 

तसर्थ, काठमाण्डौ महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्थालाई मेयर साहले अपिल गरेका छन्। यसका साथै राजनीतिक दल, भ्रातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यका रुपमा राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाण्डौ महानगरपालिकाअन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न उनले निर्देशन दिएका छन्। कुनै आबद्धता देखेको खण्डमा आफूलाई ई–मेलमार्फत जानकारी गराउन पनि मेयर साहले आग्रह गरेका छन्।

 

दलिय आबद्धता त्याग्न कर्मचारीलाई सूचित गरिएको सम्बन्धमा
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ । उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको (मुद्दा नं. ०७८–ध्इ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको छ । काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ ।
उक्त कानूनी व्यवस्था तथा सम्मानीत उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबद्र्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुदैन ।
तसर्थ, काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलिय आबद्धतासंग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ । साथै, राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।
कुनै आबद्दता देख्नु भएमा मलाइ balen4mayor@gmail.com मा इमेल गर्न सक्नु हुनेछ ।