२०८१ बैशाख ८ , शनिवार

ट्राफिक प्रहरीको रात्रिकालिन चेकिङ : मापसे गरी सवारी चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्धा

सुनाखरी न्युज/ काठमाडौं । ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङ गर्ने क्रममा गए राती मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका भाडा बसका चालक १ जना र ट्याक्सी चालक १ जना गरी २ जनालाई प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरी माथि नै अभद्र व्यवहार गरेकाले मुद्धा चलाइएको हो । किर्तिपुरको त्रिभुवन विश्वबिद्यालय अगाडीको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यबहार मुद्धामा ५ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त किर्तिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।

 

त्यस्तै भक्तपुरको जगातीमा गएराती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका धिताल उपर अभद्र व्यवहार मुद्धामा ७ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

 

चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नको लागी ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत उहाँले बताउनुभयो ।