२०८१ बैशाख १३ , बिहिवार

बीओके र हिमालयन बैंकले चीनबाट फिर्ता पाए ग्यारेन्टी वापतको रकम 

सुनाखरी न्युज/ काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएका छन् ।

 

चीनमा यी दुई बैंकको पक्षमा मुद्दाको फैसला भएसँगै १० वर्षपछि बीओकेको करिब १ अर्ब ३ करोड (६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो) तथा हिमालयनको करिब ८४ करोड रुपैयाँ (६६ लाख अमेरिकी डलर) काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आएको हो । बैंक अफ काठमाण्डूका सीईओ श्रवण मास्केले काउन्टर ग्यारेन्टीवापतको रकम मंगलबार फिर्ता आएको जानकारी दिए । मेलम्ची खानेपानी आयोजना निर्माणका बेला ठेकेदार कम्पनी चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी नेपालका यी दुई बैंकले आयोजनाको नाममा जमानतवापत अग्रिम भुक्तानी गरेका थिए ।

 

आयोजनाको काम हुँदै गर्दा बीचमै वि.सं. २०६९ भदौमा विभिन्न आरोप लगाउँदै ठेकेदार कम्पनी चाइना रेल्वेले काम छाडेपछि उक्त काउन्टर ग्यारेन्टीवापतको रकम फसेको थियो । त्यसपछि यी दुबै बैंकहरु कानुनी प्रक्रियामा गएका थिए । चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडियट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा एक महिनाअघि मात्रै बैंकको पक्षमा अन्तिम फैसला भई टुंगिएको थियो ।