२०८० चैत्र १५ , बिहिवार

पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले आज एक कार्यक्रमबीच पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन्।

 

उद्घाटन समारोहमा नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो। धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा, पित्तल र ढलौटका मूर्ति, ढुंगाका मूर्ति (प्रस्तरकला), संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुन्डो एवं पुरातात्विक महत्वका छैटौँ शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचीन मुद्राहरु, छाप तथा अन्य मूर्त तथा अमूर्त सम्पदाका सामग्री संग्रहालयको मुख्य आकर्षण रहेको छ।

 

नेपाल इन्भेस्टमेन्ट बैंकले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गरी यस पवित्र ‘पाशुपत क्षेत्र’मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयका रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। पुनर्निर्माणपश्चात नेपाल इन्भेस्टमेन्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ। यसका बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा रु. ५ करोड १४ लाख तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ।

 

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाकालदेखि नै कला, संस्कृति, एवम् खेलकूदको संरक्षण तथा प्रवर्द्धनका लागि सधै सहकार्य गर्दैआएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठमन्दिर, पाटीपौवा तथा घाट आदिको पूनर्निर्माण एवं जात्रा, पर्व आदिको प्रवर्द्धनमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोगमात्र नभई वस्तुगत रुपमै सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दैआएको छ।