२०७९ आश्विन १३ , बिहिवार

प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबाट मातहत प्रहरी कर्मचारीलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सोही कार्यालय तथा मातहत कार्यालयका प्रमुखहरूलाई कार्यालयको सभाहलमा सोमबार निर्देशन दिनु हुँदै उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रूपमा रहने हुनाले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

 

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयलाई निर्देशन दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि आवश्यक समन्वय र सहकार्यमार्फत् स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्न समेत निर्देशन दिनुभयो ।

 

कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै उहाँले आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनशिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनमा योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।