२०८१ बैशाख १२ , बुधवार

खेलकुद परिषद गण्डकीद्वारा प्रशिक्षकरप्रशिक्षण कार्यक्रमको सुरुवात

सुनाखरी न्युज/ पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षकहरुलाई पहिलो चरणको प्रशिक्षकरप्रशिक्षण कार्यक्रमको सोमबारबाट सुरुवात गरेको छ ।

 

आसन्न नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै परिषदले यस्तो तयारी थालेको हो । यहि भदौ ३ गतेबाट पहिलो चरणको प्रशिक्षण प्रारम्भ भए संगै १४ विभिन्न खेलका र ५ महिला खेलका स्वयंसेवी गरी कास्कीका १९ जना प्रशिक्षकहरुलाई पहिलो पटक यस्तो प्रशिक्षण दिन सुरुवात गरिएको संयोजक खगेन्द्र क्षेत्रीले बताए । एक साता सम्म दिइने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षकरप्रशिक्षण कार्यक्रमलाई दोश्रो र तेश्रो चरण गरी सबै जिल्लाका प्रशिक्षकहरुलाई प्रदान गरिने क्षेत्रीले जानकारी दिए ।

 

खेलविज्ञ तथा सिनियर प्रशिक्षक शुसिल नरसिंह राणाले प्रशिक्षकहरुलाई प्रशिक्षण दिने छन् । प्रशिक्षकलाई आधारभुतरुपमा आवश्यक पर्ने ‘ट्रेनिङ प्लान’, ‘माइक्रो साइकल’ लगायतका विषयमा प्रशिक्षण दिइने छ । सो प्रशिक्षण बारे जानकारी दिंदै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ उत्कृष्ट नतिजाका लागि प्रशिक्षकहरुलाई यस प्रकारको तालिम महत्वपूर्ण हुने बताए । प्रथम चरणको प्रशिक्षण र छनोट सुरु भए पनि सम्वन्धित खेलका प्रशिक्षकहरुलाई यस्तो प्रशिक्षणले खेलाडीहरुको मनोवल माथी उठाउन सहयोग पुग्ने उनको भनाई थियो ।

 

कास्की, नवलपुर, गोरखा, वागलुङ र स्याङजामा पहिलो चरणको छनोट र प्रशिक्षण जारी रहेको बताउँदै सदस्य सचिव गुरुङले सबै जिल्लाका प्रशिक्षकहरुलाई सम्वन्धित जिल्लामा नै प्रशिक्षण दिने कार्यक्रम तय गरिएको र खेल प्रशिक्षण तथा छनोटलाई कुनै बाधा नपुग्ने गरी प्रशिक्षकहरुलाई तालिममा सहभागि गराइएको उनको भनाई थियो ।