२०८१ बैशाख ११ , मंगलबार

निसीखोला हत्याकाण्ड आरोपमा मृतककै श्रीमती पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’ को हत्या अभियोगमा मृतककै पत्नी र सालीलाई पक्राउ गरेको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्‍यो।

 

हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ। शवको पहिचान खुलेपछि प्रहरीले हत्याराको खोजी सुरु गर्‍यो। हत्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृतककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृत्युका शोक थियो न सुर्ता।

 

त्यै पनि प्रहरीले अनुसन्धानलाई अरु नै कोणबाट अगाडि बढायो। टाउको छिनाएको अवस्थामा विभत्स शव भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए। जिल्ला प्रहरी कार्यालयमा यस अघि कार्यरत रहेर सरुवा भैसकेको इन्सपेक्टर हेम भण्डारी पनि बागलुङ आएको बखत परेकाले त्यो घटनास्थलतर्फ गए। जिल्ला प्रहरी कार्यालय बागलुङमा हत्या आरोपी सार्वजनिक गर्न आईतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा हत्या बारेमा जे तथ्यहरु सार्वजनिक गर्‍यो, त्यो धेरैलाई झस्काउने खालको छ। प्रहरीले विकको हत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो।

 

गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीको निर्देशन र सहयोगमा २०७९।०५।०४ गते नियन्त्रणमा लिई मिति २०७९।०५।०५ गते सम्मानित जिल्ला अदालत बागलुङबाट दिन ५ (पाच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।