२०८१ बैशाख ४ , मंगलबार

आगामी निर्वाचनमा दल र उम्मेदवारको मात्रै चिन्ह राखिने

सुनाखरी न्युज/ काठमाडौं ।आगामी निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ ।

 

मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिन्ह समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिनुभएको हो ।

 

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा दर्ता दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र भद्धा भएको र बदरको सङ्ख्या पनि बढाएको थियो । आयोगले आउँदो निर्वाचनका लागि सङ्घीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ ।

 

मतदान केन्द्रमा चार वटा अलग अलग मतपत्र, मत संकेत, मतपेटिकाको व्यवस्था र निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी गरेको छ । यसको स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । यसबारे मन्त्रालय र आयोगबीच छलफल समेत भएको आयोगले जनाएको छ । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । निर्वाचनमा कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान आयोगले गरेको छ ।