२०८१ बैशाख १२ , बुधवार

१२ वर्ष मुनिका बालबालिकालाई आजदेखि फाइजर खोप दिइने

सुनाखरी न्युज /काठमाडौं । ५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आज आइतबारदेखि फाइजर खोप दिइने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिन सुरु गरिने भएकाे हाे । यहि भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोश्रो मात्रा खोप सञ्चालन हुने भएकाे हाे । प्रदेश-१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा फाइजर खोप दिइने मन्त्रालयले जनाएकाे छ ।

 

त्यसैगरि गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने भएकाे छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् ।

 

सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ । २७ जिल्लामा भने यस अघि नै बालबालिकालाई खोप लगाई सकिएको मन्त्रालयले जनाएकाे छ ।