२०८१ बैशाख १३ , बिहिवार

नयाँ आयोजना सञ्चालन नगर्न प्रदेश सरकारलाई आयोगको निर्देशन

सुनाखरी न्युज /काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।

 

आयोगले तीनै तहका सरकारहरूलाई यस्तो निर्देशन दिएको हो । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने जनाएको छ । समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ ।

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने तय भएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति २०७९ मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेकाे छ । निर्वाचनको तयारीका कार्यहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने काम नगर्न समेत जारी विज्ञप्तिमा भनिएकाे छ ।

 

निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न-नगराउन नेपाल सरकार, सातै प्रदेश र सबै स्थानीय तहलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएकाे छ ।