२०८१ बैशाख ८ , शनिवार

बञ्चरेडाँडामा हट्यो फोहोर विसर्जनको अवरोध, आजदेखि उठ्न थाल्यो काठमाडौं उपत्यकाको फोहोर

सुनाखरी न्युज / काठमाडौं – स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हटेको छ । सत्तारुढ दलका स्थानीय नेता नेतृत्वको आन्दोलनको अवरोध हट्दा फोहोर विसर्जनमा सहज भएको छ ।स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानै १६२ ट्रक फोहोर बञ्चरेडाँडामा विसर्जन भएको छ । “आज स्थानीयको अवरोध छैन । बिहानैदेखि फोहोरका ट्रक अनलोड भइरहेका छन्,” उनले भने । अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ । राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउने छ ।

 

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन । दस दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । प्रमुख राईले भने, “आजदेखि फोहर व्यवस्थापन कार्य सुरु भए पनि सडकमा जताततै रहेको फोहर व्यवस्थापन गर्न भने अझै केही दिन लाग्ने छ ।”सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच बिहीबार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।

 

बुधबार काठमाडौं, धादिङ र नुवाकोट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बाटोमा लिचेड चुहाउन नपाइने, जथाभावी फोहोर फाल्न नपाइने, दैनिक फोहोरलाई औषधि प्रयोग गरेर दुर्गन्धमुक्त बनाउने र पुराना मागहरू कार्यान्वयनमा ल्याउन चारबुँदे सहमति भएको थियो ।तर, स्थानीय सत्तारुढ दल नेतृत्वको अवरोध हटेको थिएन । गएराति सत्तारुढ स्थानीय नेताहरूको सर्वदलीय बैठक बसेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पाण्डेका अनुसार स्थानीय प्रहरीको सुरक्षामा फोहोर अनलोड भइरहेको छ । ल्याण्डफिल साइटमा दुई समूहले भदौ १ गतेदेखि फोहोर फाल्न नदिन छुट्टा–छुट्टै आन्दोलनको घोषणा गरेका थिए । स्थानीय संघर्ष समिति श्रीराम ढुंगाना नेतृत्वको आन्दोलन सहरी विकास मन्त्रालयको निर्णयपछि फिर्ता भएको थियो । बुधबारदेखि यातायात व्यवसायी र टिपर व्यवसायीले सहयोग स्वरुप ३० वटा टिपरमा फोहोर उठाउन थालेका छन् ।