२०८१ बैशाख १३ , बिहिवार

म्यानमारबाट नेपालमा सिधा हवाई उडानको तयारी

सुनाखरी न्युज /काठमाडौं । म्यानमारको यांगुनबाट नेपालमा सिधा हवाई उडान सुरु गर्ने तयारी भएको छ । नेपालका लागि म्यानमारका राजदूत यु सिन ओ (U Sein-Oo) का अनुसार यांगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलमा सिधा हवाई उडान शुरु गर्ने तयारी भएको हो ।

 

सोको लागि दूतावासले म्यानमार सरकारलाई प्रस्ताव पठाइसकेको राजदूत ओले बुधबार नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रि«जको १२औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा जानकारी गराए । ‘दुई मुलुकबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेकाले हामी दुई मुलुकबीच व्यापार र आर्थिक सम्बन्ध विस्तारका साथै एयर कनेक्टिभिडी स्थापना गर्न गइरहेका छौं,’ राजदूत ओले भने ।

 

कार्यक्रममा बोल्दै म्यानमारका लागि नेपाली राजदूत नियुक्त हरिश्चन्द्र घिमिरे यी दुई मुलुकबीच संस्कृति, व्यापार र भाषागत सम्बन्ध विस्तारको ठूलो सम्भावना रहेको बताए । विविधतामा एकता दुवै मुलुकको मुल मन्त्र रहेको भन्दै उनले म्यानमार सार्क र आसियान मुलुकबीचको पुल भएको बताए । म्यानमारमा रहेका नेपालीलाई दोस्रो ठूलो डायस्पोरा भन्दै उनले नेपालको हकमा उनीहरुले सफ्ट पावरका रुपमा काम गर्न सक्ने बताए ।

 

चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले दुवै मुलुकका सरकारलाई द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका लागि सिधा हवाई सम्पर्क स्थापित गर्नेतर्फ काम गर्न आग्रह गरे । ‘हामी नेपाल र म्यानमारबीच व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं,’ अग्रवालले भने, ‘दुवैतिरका सम्भावनाबाट दुवै मुलुकहरु लाभान्वित हुन सिधा हवाई सम्पर्क हुनु जरुरी छ ।’ दुई मुलुकबीचको आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध अझ मजबुत बनाउनेतर्फ चेम्बरले काम गरिरहेको पनि उनले जानकारी दिए ।

 

साधारण सभा उद्घाटन सत्रलई नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष सुनिलकुमार वंशल, कन्सुलर कप्र्स नेपालका निवर्तमान डिन लोकमान्य गोल्छालगायतले सम्बोधन गरेका थिए ।

 

 

अध्यक्षमा पुनः अग्रवाल
नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्षमा शिवकुमार अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको १२औं साधारण सभाले अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

 

चेम्बरको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया, द्वितीय उपाध्यक्षमा मोहनविर थापा, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का र कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरु पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुगंटा, श्रीमती सृजन सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।