२०८१ बैशाख ११ , मंगलबार

रोनाल्डोलाई पुलिसको चेतावनी

सुनाखरी न्युज / एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई मर्सीसाइड पुलिसले आक्रमण र आपराधिक क्षतिको आरोप लागेपछि चेतावनी दिएको छ । गत सिजनको अन्त्यतिर एभर्टनविरुद्ध खेलमा उनले समर्थकको रिसले फोन फ्याँकेर फुटाइदिएपछि आरोप लागेको थियो । खेलमा युनाइटेड १(० ले पराजित भएको थियो । उक्त घटनालाई लिएर पुलिसमा उजुरी परेको थियो । रोनाल्डोले आफैं पुलिसमा हाजिर भएर उक्त घटनाबारे विवरण पेश गरेका थिए । मर्सीसाइड पुलिसले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोलाई चेतावनी दिइएको बताएको छ ।

 

पुलिसले विज्ञप्तिमा लेखेको छ, ‘हामी पुष्टि गर्न सक्छौं कि एक ३७ वर्षीय पुरुष स्वैच्छिक रूपमा उपस्थित थिए र आक्रमण र आपराधिक क्षतिको आरोपको सम्बन्धमा सावधानीपूर्वक अन्तर्वार्ता लिइयो। अभियोग शनिबार ९ अप्रिलमा गुडिसन पार्कमा एभर्टन र म्यानचेस्टर युनाइटेड फुटबल खेल पछिको घटनासँग सम्बन्धित थियो । सशर्त सावधानी अपनाएर यो विषयलाई सम्बोधन गरिएको छ । अहिले यो विषय टुंगोमा पुगेको छ ।’

 

रोनाल्डो आफैंले पनि खेल सकिएलगत्तै इन्स्टाग्राममार्फत घटनालाई लिएर माफी मागेका थिए । उनले लेखेका थिए, ‘हामीले सामना गरिरहेको जस्तो कठिन क्षणमा भावना नियन्त्रणमा राख्न कहिल्यै सजिलो छैन । यसो भनिरहँदा हामीले सधै सम्मान र धैर्यता देखाएर यस सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि उदाहरण दिनुपर्छ । म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र सम्भव भएमा, म ति समर्थकलाई खेलभावनाको संकेतको रूपमा ओल्ड ट्राफर्डमा खेल हेर्न आमन्त्रण गर्न चाहन्छु ।’