२०८१ बैशाख ८ , शनिवार

दल दर्ताका लागि निवेदन दिएका दलहरुको जाँच बुधबारबाट हुन्छ : आयोग

सुनाखरी न्युज /काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको बुधवारबाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।

 

सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण शुरु हुने बताउनुभयो । उहाँले सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताउनुभयो । त्यस्तै उहाँले आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने बताउनुभयो ।

 

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताउनुभयो । उहाँले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भएपनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताउनुभयो । उहाँले पार्टीमा सदस्य फरकफरक भएपनि संसदीय दल भने एउटै रहने बताउनुभयो । उहाँले संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

 

प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको बताउनुभयो । निर्वाचनका लागि चाहिने सामग्रीहरु टेण्डरको लागि पनि काम भइरहेको बताउनुभयो । उहाँले निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि छलफल भइसकेको बताउनुभयो ।