२०८० चैत्र १६ , शुक्रवार

टिक्न सकेन सेयर बजारको वृद्धि

सुनाखरी न्युज /काठमाडौं । पुँजी बजारमा सोमबार देखिएको सकारात्मक माहोल फेरि टिक्न सकेन । अघिल्लो दिन बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा मंगलबार नेप्से सूचक पुनः प्रभावित भएको छ ।

यस दिन नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आएको छ । २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचक घटे पनि कारोबार रकम भने बढेको छ । बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा ट्रेडर हावी भएकले नेप्सेको वृद्धि टिक्न नसकेको हो । अर्थतन्त्रमा विस्तारै सकारात्मक संकेतहरु देखिने अपेक्षा गर्न सकिने भएको छ । किन भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न थालेको छ । यसबाट निर्यातमा रहेको ठूलो खाडल कम गर्न सहयोग पुग्नेछ ।

 

विस्तारै रेमिटेन्स आउनेक्रम बढ्ने र तेलको भाउ घट्ने हुँदा यसले समग्र शोधनान्तर अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु भइरहेका छन् । घटेको बजार फेरि माथि जाने भएकाले सोही अनुसार लगानी सम्बन्धी रणनीति तय गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । यस दिन २२१ कम्पनीको ६४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक राताम्य भएका छन् । ४० करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट्स र हिमालयन डिष्टिलरी परेका छन् ।