२०८१ बैशाख ११ , मंगलबार

‘बाबरी’ टिजर : अदितीको माया पाउन दुई धीरजको लडाइँ

सुनाखरी न्युज /काठमाडौं –  धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर फिल्म ‘बाबरी’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुलाई चित्रण गर्छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार–चढावलाई समेटेको छ । टेलरमा अभिनेत्री अदिति बुढाथोकीको माया पाउन धीरज मगर र धीरज नाडकरले गरेको संघर्ष समेत समेटिएको छ ।

 

खासमा त्रिकोणात्मक प्रेममा आधारित फिल्मले युवतीको प्रेमको लागि दुई युवकले गर्ने संघर्षलाई प्रस्तुत गर्छ । अदिती बाबरीलाई धीरज मगर एकोहोरो प्रेम गर्छन् । यी दुईको बीचमा नाड्करको प्रवेश हुन्छ र यसले त्रिकोणात्मक प्रेमको रुप लिन्छ । अनि सुरु हुन्छ बाबरीलाई पाउन हुने संघर्ष । धीरज नाडकरले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुस्मा गुरुङ छिन् ।

 

 

सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो । फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चामा छ ।