२०८१ बैशाख १३ , बिहिवार

सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा पृथ्विचोकको वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज /पोखरा । सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्विचोक, पोखराको २२ औं वार्षिक साधारण सभा पोखरा न्युरोड स्थीत सिटि पार्टि प्यालेसमा सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोकले समाजका विकृती विसंगति न्यूनिकरणका लागि गरेको कार्य प्रति आभार प्रकट गर्दै नेपाल प्रहरीले अवलम्ब गरेको समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत नेपाल प्रहरी, स्थानिय तह, समुदाय, सामाजिक संघ संस्था, विद्यालय तथा आम सञ्चार माध्यम संग साझेदारी स्थापना गरी नागरिक, प्रहरी, समुदाय र प्रदेश सरकार बिचको सम्बन्धबाट समाजको सुदृढिकरण गर्न आफ्नो स्थानबाट भरपुर सहयोग गर्ने बताउनुभयो ।

 

साथै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले समाजमा शान्ति सु-व्यवस्था खलल पारी अपराधिक क्रियाकलाप गर्दै हिड्नेहरुलाई कानूनि दायरामा ल्याउन नेपाल प्रहरी पछि नहट्ने बताउँदै प्रहरी र नागरीकको एक आपसमा सहयोग र सहकार्यबाट मात्रै विकृति विसंङगति मुक्त समाजको निर्माण गर्न सकिने बताउनु भयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै उक्त सेवा केन्द्रका अध्यक्ष धर्मदत्त आचार्यले समाजका विकृति विसंङगति न्यूनिकरणका लागि सामुदायिक प्रहरी सेवा केन्द्र सदैव लागि रहने कुरा बताउँदै आगामि दिनमा पनि सरोकारवाला सम्पुर्ण निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको कुरा बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका-९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र वडा नं-१५ का वडा अध्यक्ष तोरण वहादुर वानियाँले उक्त सेवा केन्द्रहरुले सञ्चालन गरेका सबै कार्यक्रमहरु आफ्नो वडामा सञ्चालन गर्न आवश्यक रहेकोले जुनसुकै कुरामा समन्वय तथा सहकार्य गर्न पनि आफुहरु तत्पर रहेको बताउनु भएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा पृथ्विचोकलाई कार्यसम्पादन गर्न विभिन्न तवरले सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्र तथा केन्द्रका पत्रकार सल्लाहकार लाई सामुदायिक वर्ष पुरस्कार सहित सम्मान गरीएको थियो ।

उक्त कार्यक्रममा सेवा केन्द्रका साधारण तथा आजिवन सदस्यहरु, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।