२०८१ बैशाख ८ , शनिवार

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा हुनुपर्छ : खेलकुदकर्मी

सुनाखरी न्युज / नवलपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद नवलपुरमा सञ्चालन गर्नुपर्ने खेलकुदकर्मीले माग गरेका छन् । सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो माग गरेका हुन् ।

 

कार्यक्रममा नवलपुर नगरपालिकाकी उपप्रमुख फुलकुमारी थनेतले नवलपुरमा खेलकुदका पूर्वाधारहरु पर्याप्त रहेको भन्दै नवलपुर नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । करिव ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता आफ्नो नगरपालिकामा सञ्चालन गर्न पाउनु गौरवको विषय भएको भन्दै उनले यसलाई सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा कुनै कसर बाँकी नराख्ने बताइन् । उनले भनिन् ‘समग्र जिल्ला मात्रै नभई देशकै गौरव बढाउने प्रतियोगिता सञ्चालन हुनु राम्रो हो, यसमा हामीलाई आएको जिम्मेवारी सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी राख्दैनौं । त्यसका लागि छिमेकी पालिकासँग सहकार्य गरेर यसको जिम्मेवारी पुरा गर्नेछौं ।’

 

यस्तै कार्यक्रममा कावासोती वडा नम्वर १२ वडाध्यक्ष समेत रहेका पूर्व खेलकुद विकास समिति नवलपुरका सचिव ध्रुव खनाल ‘दिपेश’ले नवलपुरमा नवौं खेलका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरु रहेका हुनाले आफूहरु प्रतियोगिता सञ्चालन गर्न उत्साहीत रहेको बताए । यस्तै कार्यक्रममा जिल्ला क्रिकेट संघ नवलपुर पूर्व अध्यक्ष प्रकाश पौडेलले आफ्नो जिल्लामा क्रिकेटका पूर्वाधारहरु प्रशस्त रहेको भन्दै यसपटक क्रिकेट खेल सञ्चालनको जिम्मेवारी आफूहरुले पाउनुपर्ने दावी गरे । यस्तै जिल्ला फुटबल संघ नवलपुरका उपाध्यक्ष मेघराज पाण्डेले जिल्लामा राष्ट्रिय स्तरकै महिला खेल आफूहरुले यसअघि सम्पन्न गरिसकेको हुनाले आफूहरु पुरुष महिला दुबै खेल सञ्चालन गर्न सक्षम रहेको बताए ।

 

कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सहजीकरण राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा खेलस्थल व्यवस्थापन उपसमितिका संयोेजक राजेश कुमार गुरुङले गरेका थिए । उनले नवौं खेलकुद सञ्चालनका लागि नवलपुरले देखाएको सक्रियताले आफूलाई खुशी लागेको बताए । उनले भने, ‘यहाँहरुले ३९ वर्षपछि प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि देखाउनुभएको तत्परताप्रति आभार व्यक्त गर्न चाहान्छु । उनले जिल्लामा धेरैभन्दा धेरै खेल आयोजनाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।’

 

समितिका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व खेलकुद विकास समितिका सचिव ध्रुव खनाल दिपेश र सञ्चालन मेधनीलाल पाण्डेले गरेका थिए । खेलस्थल व्यवस्थापन उपसमितिले जिल्लास्थित कर्भडहल र कावासोती ३ स्थित नमुना सदरमुकामको हाताभित्र रहेको खेलकुद विकास समितिको १५ विगा जग्गाको अवलोकन गरेको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ पदकालागि प्रतिस्पर्धा गर्नेछन् ।