२०८० चैत्र ६ , मंगलबार

नेपाल टेलिकमको खुद नाफा एक अर्ब २५ करोड रुपैयाँले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८र७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ ।

 

यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार रुपैयाँले बढेर ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यस्तै, यस अवघिमा टेलिकमको कूल आयमा समेत व्यापार वृद्धि देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रुपैयाँ रहेको कुल आय २ अर्ब ११ करोड १४ लाख ५४ हजार रुपैयाँले बढेर ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार पुगेको छ । टेलिकमको खुद नाफा बढ्नुमा डाटा सेवाको प्रयोगमा वृद्धि हुन मूख्य कारण रहेको छ । यस्तै, फोरजी सेवाको व्यापक विस्तार हुँदा र कार्य सञ्चालन आयमा कमि हुँदा समेत खुद नाफा बढेको कम्पनीले जनाएको छ ।

यद्यपी यस अवघिमा आन्तरिक अन्तर आबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारणले अन्तर आबद्धता आयमा ७० करोडको गिरावट आएको बताइएको छ । यस्तै, वायरलेस सेवाको प्रयोगमा वृद्धि भएसँगै वायरलाइन सेवाको प्रयोग घट्दा राजश्वमा २१ करोडको गिरावट देखिएको छ ।

 

यसका साथै, सिडीएमए सेवा र जीएसएम सेवामा प्रतिस्थापन गर्दा आम्दानी १२ करोडले घटेको छ । यस्तै, बैंक ब्याजदर बढ्दा ब्याज आम्दानी ७७ करोडले बढेको छ भने विदेशी विनिमय दरमा परिवर्तन हुँदा ३७ करोड विदेशी मुद्रा आय भएको बताइएको छ ।