२०७९ आश्विन १९ , बुधवार

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

nrb#

सुनाखरी न्युज /काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३१ गते (मंगलबार) १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो।

 

यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ। यस्तै ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक २९ गते परिपक्व हुनेछ। यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुन आगामी फागुन २ परिपक्व हुनेछ। यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ट्रेजरी बिलमा उच्च ब्याजदर माग गरेपछि राष्ट्र बैंक आफैँले खरिद गर्दै आएको छ। बैंकहरुले मागेको उच्च ब्याजले सरकारलाई भार पर्ने भएपछि ब्याजदरको सन्तुलन मिलाउन राष्ट्रबैंक आफैँले ट्रेजरी बिल खरिद गर्दै आएको हो।