२०८० चैत्र १५ , बिहिवार

आफ्नी बहिनीसँग प्रेम गरेको शङ्कामा दाजुभाइले गरे २३ वर्षीय युवकको हत्या

सुनाखरी न्युज /वीरगंज बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाराका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई नियन्त्रणमा लिएको हो। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ। उनीहरूले राजकुमारले आफ्नी बहिनीसँग प्रेम गरेको शङ्काका आधारमा हत्या गरेको बयान दिएका पर्सा प्रहरीले जनाएको छ ।

 

 

गएको मङ्गलवार २३ वर्षका राजकुमार ठाकुर ट्युसन पढ्न साइकल चढेर वीरगञ्ज गएकोमा नफर्किएपछि उहाँका बुबाले प्रहरीलाई खबर गर्नुभएको थियो । अनुसन्धानका क्रममा वीरगञ्जमा टेलर सञ्चालन गरी बस्दै आएका बाराको विश्रामपुरका दाजुभाई उत्तम र प्रितमलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरूले राजकुमार ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर उनको शव बोरामा राखी भारतको रक्सौल रेल स्टेशन छेउमा फालेर आएको बयान दिएका प्रहरीले जनाएको छ । त्यसपछि त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव राखेर नेपाल फर्कीएको प्रहरीलाई बयान दिएका थिए ।

 

 

बयानपछि प्रहरीले प्रहरी बरिष्ठ नायव निरीक्षक बिनोद कुमार सिंहको कमाण्डमा भारतीय प्रहरीको समन्वयमा भारत प्रहरी पुगेको थियो। विहारको भागलपुर स्थितबाट शव बुझि ल्याएका थिए । घटनापछि विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाही गएराति तनावपूर्ण बनेको थियो।