२०८० चैत्र १५ , बिहिवार

सप्तकोसी बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सप्तकोसी बाढीबाट प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बिगतदेखि वर्षेनि बाढीले क्षति गर्दै हुँदै आएको सप्तकोसी आसपासको भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

 

बैठकले बाढीले क्षति भएको भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्ले विश्व बैंकबाट नेपालको हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १२ अर्ब ७० करोडका ऋण सहायता स्वीकृत गरेको छ ।

 

त्यस्तै, पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्ब १३ करोड रुपैयाँको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले निजामती कर्मचारी, प्रहरी, सेना, सशस्त्र प्रहरी र शिक्षकसमेतको नयाँ तलबमान स्वीकृत गरेको छ ।