२०८१ बैशाख ७ , शुक्रवार

बालेनलाई योगेशको सुझाव : फोहर उठाउन सरकारको हुती छैन , एमालेसँग सहकार्य गरे सफल

सुनाखरी न्युज /काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी गरे ।प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौँमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन्।भट्टराईले भने, ‘काठमाडौं फोहोरले डुङडुङ गन्हाउन भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन ।

 

 

यो सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहन्नँ ।’उनले काठमाडौँमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँका मेयर बालेन्द्र शाहलाई सुझाव दिए। वर्तमान सरकारको भरपरे काठमाडौँका मेयर शाह असफल हुने उनको भनाइ छ । भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौँका मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास रहेको र अहिले ७१ दिन भइसक्दा पनि फोहोर नउठेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।

 

 

फोहोर व्यवस्थापन गर्न सरकारको क्षमता नभएको भन्दै एमालेसँग मिलेर काम गर्न आग्रह गरेका हुन् । ‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु। आउनुस्( ठोस् प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ,’ उनले भने, ‘यदी तपाई सरकारको भरपर्नुभयो भने तपाई असफल हुने निश्चित छ। काठमाडौंको बरबादी हुनेछ। सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौं।’