२०७९ आश्विन १८ , मंगलबार

इष्टर्न हाइड्रोपावरको आइपिओ भदौ ७ गतेदेखि खुल्दै

ipo

सुनाखरी न्युज/ काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

 

कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंकको भोजपुर शाखा, ग्लोबल आइएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ ।