२०८१ बैशाख ८ , शनिवार

भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन

सुनाखरी न्युज/ काठमाडौं । भारतीय सेयर बजारका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ । सन् १९६० जुलाई ५ मा जन्मिएका भारतीय सेयर बादशाह झुनझुनवालाको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।

 

यसअघि २–३ पटक अस्पतालबाट डिस्चार्ज भइसकेका झुनझुनवालालाई उपचारका लागि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ल्याइएको थियो । अस्पतालले आज बिहान ६:४५ बजे झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो । सेयर बादशाह समेत चिनिने झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्छ । सेयर बजारबाट पैसा कमाएपछि उनी एयरलाइन्स क्षेत्रमा पनि प्रवेश गरेका थिए । झुनझुनवाला गत साता मात्रै नयाँ वायुसेवा कम्पनी ‘आकासा’ एयरलाइन्समा ४० प्रतिशत सेयरका लागि २४७.५० करोड रुपैयाँ लगानी गरी उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए ।

 

सेयर बजारमा लगानी गरेका झुनझुनवालासँग आज हजारौं करोडको सम्पत्ति छ । उनले सेयर लगानीबाट ४६ हजार करोडको साम्राज्य बनाएका छन् । यति धेरै धनी व्यक्तिको यात्रा मात्र ५ हजार रुपैयाँबाट सुरु भएको थियो । भारतको दलाल स्ट्रीटका बिग बुल उनले सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा सर्ट सेलिङ्गबाट सेयर बजारबाट मनग्य नाफा आर्जन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन, “राकेश झुनझुनवाला एक जीवन्त, हास्यास्पद र दूरदर्शी व्यक्ति थिए । उनी भारतको प्रगतिप्रति निकै उत्साहित थिए । उनको निधन अत्यन्तै दुखद छ । उनको परिवारप्रति मेरो समवेदना छ ।”