२०८१ बैशाख ८ , शनिवार

उपराष्ट्रपतिको भैरव नाच अवलोकन कार्यक्रम

सुनाखरी न्युज/ केके मानन्धर । नेपाल सरकारका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले भक्तपुरको मध्यपुर थिमिस्थित लायकु भैलः नाच अवलोकन गर्नुभएको छ ।

 

मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुग्नुभएका उहाँले एक घण्टासम्म नाच अवलोकन गरेका हुन् । गाईजात्राको भोलीपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृको गण नाच प्रदर्शन भइरहेको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाच अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व मध्ये पहिलो हुनुहुन्छ ।

 

नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रबद्र्धन फोरम समेत गठन गरिएको छ । फोरमले संस्कृति, पर्यटन तथा नागरिक उद्दयनमन्त्री, वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासनमन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकलन गर्न औपचारिक रुपमा निम्तो दिएको छ । यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकको लागि स्थानिय स्तरका पसल तथा बास बस्नको लागि होटल र लगको व्यवस्थापन गरिएको छ । थिमिको तत्कालीन दरवारबाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ ।

 

 

ने.सं ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गरेका हुन् । किंवदन्ती अनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो । भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा ५ देवगणहरुको सहभागिता रहन्छ । शनिबारदेखि सुरु भएको नाच प्रत्येक राती करिव ८ः३० बजेदेखि सुरु हुन्छ ।
Photo: Ratna Krishna Shrestha