२०८१ बैशाख १२ , बुधवार

नागरिकता विधेयक पुनर्विचारका लागि सदनमै फिर्ता पठाउने राष्ट्रपति कार्यालयको तयारी

सुनाखरी न्युज/ काठमाडौं । नागकिरता विधेयक प्रमाणिकरण वा फिर्ता पठाउनेबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्राप्त समय घर्किन लागेको छ ।

 

नागरिकता विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको १३ दिन पुगेको छ । अब दुई दिनभित्र राष्ट्रपति भण्डारीले आफ्नो निर्णयसहित विधेयक फिर्ता वा प्रमाणीकरणको निर्णय लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, शनिबार साँझसम्म शितल निवास निष्कर्षमा पुग्न सकेको छैन । स्रोतको अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमाथि प्रश्न उठाउँदै पुनर्विचारका लागि संसदमै फिर्ता पठाउने तयारी थाल्नुभएको छ ।

 

सधैं विवादित बनिरहने नागरिकताका विषयमा गम्भीर छलफल गरेर मात्रै अगाडि बढ्ने पक्षमा राष्ट्रपति देखिनुभएको हो । नागरिकतामाथि इतिहासले छाडेको प्रश्न र वर्तमानले उब्जाएका समस्याको समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा राष्ट्रपति रहेको बताइएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि देशभरिका विभिन्न व्यक्ति र समूहसँग छलफल गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।