२०८१ बैशाख ७ , शुक्रवार

निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि गरिन् आत्मदाहको प्रयास

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंमा न्यायको माग गर्दै  अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन नपाएको महाराजगन्ज वृत्तका डिएसपी अंगुर जिसीले बताए । निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको उनले बताए ।

 

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् । त्यसक्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् ।

 

शुक्रबार भने उनले वसन्तपुरबाट ट्याक्सीमा शीतल निवास अगाडि ओर्लिएर आफैंले बोतलमा ल्याएको पेट्रोल शरीरमा खन्याउँदा खन्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।