२०८० चैत्र १५ , बिहिवार

आजको भौतिक दुनियाँमा ” चार्वाक दर्शन ” को महत्त्व र पृष्ठभुमि

किरण गिरी । चार्वाक दर्शन’ लाई वैदिक तथा हिन्दू शास्त्रीय बहसमा उपभोक्तावादी तथा सुविधाभोगी मान्यता बोकेको भौतिकवादी, नास्तिक र पुनर्जन्म विरोधी, आध्यात्मिक पक्ष जत्तिकै पुरानो तथा लोकप्रिय धारको रुपमा चिनिन्छ । यसलाई लोकायत वा लोकाचारी दर्शन पनि भनिन्छ, जसको अर्थ हो– आममानिसमा व्याप्त सजिलो मान्यता । यसको प्रणेता देवगुरू बृहस्पति हुन् भनिन्छ ।

 

जुन कुरा इन्द्रियगम्य छ, अस्तित्वको ज्ञान आँखाले देखेर वा कानले सुनेर वा हातले छोएर वा खुट्टाले टेकेर अनुभूत गर्न सकिन्छ त्यो मात्र वास्तविक हो भन्ने यसको मान्यता हो । आमजनतालाई प्रिय लाग्ने वचन भन्नु नै ‘चारुवाक’ हो । कालान्तरमा ‘चारुवाक’ अपभ्रंश भएर चार्वाक हुनपुगेको हो– ‘चारुः लोकसम्मतो वाको वाक्यं यस्य (सः चारुवाकः)।’
चार्वाक दर्शनको कुनै संकलित ग्रन्थ देखिन्न, (‘ज्ञान गंगोत्री’नामक एउटा पुस्तकमा चार्वाक दर्शनबारे उल्लेख रहेछ)। विभिन्न प्राचीन विद्वान वा मनीषिहरूको बहसका क्रममा निषेध गर्न नसकेपछि पैदा भएको धार हो यो, फुटकर दर्शनको रुपमा । हामीले पढेका जति पनि चार्वाकका संस्कृत श्लोक छन्, ती प्रायः महाभारतको वन पर्व वा बौद्ध, स्वामी दयानन्द सरस्वतीले आफ्नो कृति ‘सत्यार्थ प्रकाश’मा र जैन ग्रन्थहरूमा उल्लेखित छन् भन्छन्, तर मैले पढ्न पाएको छैन ।

चार्वाक दर्शनको मूल मन्त्र–
यावज्जीवेत सुखं जीवेद ऋणं कृत्वा घृतं पिवेत,
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।
अर्थात, जहिलेसम्म बाँच्ने हो सुखसँग बाँच्नुपर्छ । ऋण वा पैंचो लिएर भए पनि घिउ नै खानु (मोज गरेर बाँच्नु भन्ने अर्थमा)। मसानघाटमा यो शरीर डढेपछि फेरि कहाँ फर्केर आएको छ ?
‘ज्ञान गंगोत्री’मा त कतिसम्म लेखेको रहेछ भने, तीनै वेदहरूका द्रष्टा वा रचयिताहरू धूर्त प्रवृत्तिका चालुवादी निशाचर हुन्, (त्रयोवेदस्य कर्तारौ भण्डधूर्तनिशाचराः), जसले मानिसहरूलाई बेवकुफ बनाउनका लागि आत्मा–परमात्मा, स्वर्ग–नर्क, पाप–पूण्यजस्ता कुराको भ्रम फैलाएका छन् । धर्तीमा पाईराखेको सुख छोडेर परलोकमा सुखको आसा देखाउँछन् ।
अर्को एक लेखमा चार्वाक दर्शनले स्वतन्त्र यौनलाई पनि सहज र स्वाभाविक मानवीय चेष्टाको रुपमा लिएको पाईयो– ‘चर्म घर्षणे दोषम् नास्ति….।’
वैदिक दर्शनले चराचर जगत (Universe) वा सौर्य मण्डल (Solar system) माटो (पृथ्वी), पानी, तेज (सूर्य वा आगो), हावा र आकाश यी पञ्चतत्वले बनेको भन्छ । तर चार्वाकले आकाश वा शून्यलाई वस्तु मान्दैन । आत्मा नामक कुनै छुट्टै पदार्थ हुँदैन, यो त शरीरको एउटा आयाम हो । आकाश बाहेकका चारतत्व मात्र सृष्टिका आधार हुन् भन्छ ।
एक युगमा चार्वाकको लोकप्रियता निकै बढेको थियो, तर बौद्ध, जैन तथा अद्वैतवाद (श्री माधवाचार्य नामक मनीषिले आत्मा र परमात्माको अलग द्वैत अस्तित्व हुन्छ भन्ने मान्यताको विपरीत श्री शंकराचार्यले आत्मा र परमात्मा दुईटा वा ‘द्वैत’ होइनन् एउटै वा अद्वैत हुन् भन्ने विचार) को उभार पछि चार्वाक पूरैजसो ओझेलमा पर्यो।
द्वन्द्वात्मक भौतिकवादी (मार्क्सवादी) दर्शनको जस्तो ‘पदार्थ र चेतना’ को विचार वा ‘Thesis Antithesis & Synthesis’ पनि चार्वाक दर्शनमा देखिन्छ-
जडभूतविकारेषु चैतन्यं यत्तु दृश्यते ।
ताम्बूलपूगचूर्णानां योगाद् राग इवोत्थितम् ।।
(जसरी पानका पात तथा सुपारीको चूर्ण मिलेपछि रातो रंग आउँछ, त्यसैगरी चेतनाशून्य घटक तत्वहरूको आपसी संयोगले चेतनाको उत्पत्ति हुन्छ ।)
(स्रोत : ‘ज्ञान गंगोत्री लगायत विभिन्न धार्मिक कृतिहरू)

खोज तथा लेखन – किरण गिरी नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमा केन्द्रीय सदस्य हाल महासमिति सदस्य हुन ।