२०८० चैत्र १६ , शुक्रवार

समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण: प्रहरी महानिरीक्षक सिंह

सुनाखरी न्युज / काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनका लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिवद्ध, नतिजाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै तोकिएको कार्य समय सिमामा सम्पन्न गरी समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने बताउनुभएको छ ।

 

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी तथा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बिसी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहबीच कार्यसम्पादन सम्झौतामा प्रत्यक्ष हस्ताक्षर भएको थियो भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्य एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको थियो ।

 

सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिम नेपाल सरकार गृह मन्त्रालयका गृह सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबीच मंगलबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्य सम्पन्न भएको सन्दर्भमा उहाँहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको समग्र कार्य सम्पादनको गुणस्तर अभिवृद्धि र विकास गर्ने अभिप्रायका साथ ब्लु प्रिन्टको रूपमा नेपाल प्रहरी कार्य योजना २०७९ जारी गरिएको उल्लेख गर्नुभयो । कार्य योजनामा उल्लेखित ८ वटा लक्ष्य प्राप्तिका लागि सम्बन्धित कार्यालय प्रमुखहरूलाई आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यसम्पादन करार बमोजिम प्राप्त उपलब्धिहरूको मापनको आधारमा सांगठनिक सफलताको मूल्याङ्कन हुने र यसको कार्यान्वयनको अवस्था र स्तरलाई सम्बन्धित प्रहरी ईकाई र कार्यालय प्रमुखहरूको वार्षिक कार्यसम्पादन मुल्याङ्कनको आधारको रूपमा समेत लिइने उहाँले बताउनुभयो ।

 

प्रहरी महानिरीक्षक सिंहले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही प्रहरी संगठनको वृहत्तर हित र कर्मचारीहरूको वृत्ति बिकासका निमित्त अन्य नविनतम् र रचनात्मक कार्यहरू गर्नेतर्फ समेत अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।