२०८१ बैशाख ८ , शनिवार

अबदेखि डाक्टरले आफ्नो सहकार्मी चिकित्सकलाई गालीलौज गर्न नपाइने

सुनाखरी न्युज / काठमाडौं – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग संहिता सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचारसंहिता २०७९ सार्वजनिक गरेको छ ।

 

सहकार्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरेको हो । ८ बुँदे आचारसंहिता अनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्नुपर्ने छ । यस्तै सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने, विरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा विरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्ने छ । तर, अन्य व्यक्ति तथा संस्थाका धारणाहरूको आलोचना गर्दा तथ्यपरक ज्ञान तथा जानकारी आवश्यक पर्छ ।

 

यद्यपि आलोचनात्मक अभिव्यक्तिमा समेत अपमानजनक शब्द प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ । तस्तै, बिरामीको परिचय खुल्नेगरि कुनै पनि उपचारजन्य भिडियो र तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख गरिएको छ ।  अबदेखि अनलाइन परामर्शमा समेत कानुनी पक्ष आकर्षित हुने भएकाले अनिवार्य रूपमा लिखित अभिलेख राख्नुपर्ने हुन्छ । यस्तै, अनलाइन परामर्श तथा सुझाव प्रदान गर्दा कुनै पनि रोगको निदान तथा उपचार असहज हुने देखिएमा अनिवार्य रूपमा बिरामीलाई भौतिक चेकजाँच गरेर मात्र उपचारजन्य सुझाव तथा सल्लाह दिनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।