२०८० चैत्र १५ , बिहिवार

काठमाडौँ महानगरको ४४.२४ प्रतिशत मात्र बजेट खर्च

सुनाखरी न्युज /काठमाडौ। देशको राजधानी समेत रहेको सबैभन्दा ठूलो महानगरपालिका नै गत आवमा करिब ५६ प्रतिशत बजेट खर्च गर्न असफल भएको छ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको हो ।

 

कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।गत आर्थिक वर्षका लागि कामपाले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा ७ अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपनर्नेमा जोड दिए ।

 

जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।