२०८० चैत्र १६ , शुक्रवार

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् आकर्षण

सुनाखरी न्युज/ काठमाडौं । मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन्। चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ। तर, एकातर्फ आवश्कताअनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ।

 

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ। के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सीएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्न लागिएको छ। मेला आगामी कात्तिक १७ देखि २० गतेसम्म काठमाण्डौस्थित भृकुटीमण्डपमा हुनेछ।

मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ। यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल पनि हुनेछ।

 

मेलाबाट आउने सम्भावित उपलब्धि यस्ता छन्–

बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने।
सरकार तथा अन्य सरोकारवालालाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने।
नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान हुने।

मेलाका आकर्षण-

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता
सीप विकाससम्बन्धी विभिन्न विषयमा बृहत छलफल
सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति
आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने।
तीनदिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागी हुने आयोजकको अपेक्षा छ। कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थी, सेवा तथा उत्पादनमूलक उद्योग, निजी, सार्वजनिक तथा सरकारी अधिकारीसमेत गरी ५० हजारभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकको छ।