२०८१ बैशाख १२ , बुधवार

गण्डकी प्रदेश प्रहरी प्रमुख बाट जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय पर्वतको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ ।

 

प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिमैत्री र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ ।

 

निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।