२०८१ बैशाख ११ , मंगलबार

राष्ट्र बैंकले आफैं खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

सुनाखरी न्युज/काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । सरकारले एक वर्षभन्दा कम समयको लागि लिने ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

 

ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो ।

 

उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।

राष्ट्र सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ ।

 

मौद्रिक नीतिपछि बैंकहरुले अल्पकालिन ब्याजदरमा भारित वृद्धि गर्दै ट्रेजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर बोलकबोल पेश गरेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर आफैं ट्रेजरी बिल खरिद गर्न लागेको छ । १७ साउनमा ९१ दिन अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएकोमा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएको १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो ।