२०८१ बैशाख १३ , बिहिवार

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सोमबार क्यानले प्रेस विज्ञप्ती जारी गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो ।

 

पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले कार्यकाललाई ७ महिनामा नै टुङ्गाएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो । नेपाली टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएका प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ । यसअघि अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसियशनको प्रशिक्षण सम्हालेको प्रभाकारमा अनुभव रहेको छ ।

 

‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरुको प्रतिभा र कौशलता देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रुपमा विकाश गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले क्यानद्वारा जारी विज्ञप्तीमा बताउनुभएको छ । ५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेल्नुभएको थियो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले स्कटल्याण्ड भ्रमण पछि राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षक विहीन थियो ।

 

नेपाली टोली सम्हाल्न आउनुभएका पुबुदुले दोस्रो पटक नेपाली टोली सम्हाल्दा पहिलो कार्यकाल भन्दा निराशाजनक बन्यो । पुबुदुको कार्यकालमा नेपाली टोली बंगलादेशमा भएको २०१४ ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।