२०८१ बैशाख १२ , बुधवार

सडक निर्माण गर्दा पैसा हिनामिना गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार निर्माण उपभोक्ता समितिका अध्यक्षसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको हो ।

 

रौतहटको पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, राम किशोर साह, सव इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतो विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरिएको हो । आयोगका अनुसार सर्लाहीको रामनगर गाउँपालिका वडा नं ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यको लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट बिनियोजन भएको थियो ।

 

उक्त बजेट उपभोक्ता समितिलाई जिम्मा दिएकोमा उनीहरुले इस्टिमेट अनुसार सडक नबनाई सम्पूर्ण रकम निकासा गरी हिनामिना गरेको आयोगको भनाई छ । इन्जिनियर राय, साह र झाले उक्त सडक निर्माण गर्ने क्रममा गलत नापी किताब, भुक्तानी बिल र कायर्उ सम्पन्न प्रतिवेदन स्विकृति गरी १६ लाख ५९ हजार ९७२ रुपैयाँ हानी पुर्याएका थिए । उनीहरु विरुद्ध सो रकम बराबरको विगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । त्यस्तै, लेखा अधिकृत दाउदले उक्त क्षेत्रको सडक निर्माणका क्रममा मुल्यअभिवृद्धि कर वापतको ४ लाख ९७ हजार ५६६ रुपैयाँ राजस्व चुहावट गरेको आयोगको आरोप छ ।

 

दाउद विरुद्ध उक्त रकमको दोब्बर हुन आउने ९ लाख ९५ हजार १३२ रुपैयाँ जरिवाना माग गरिएको छ । त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष महतोले पनि सडक निर्माण गर्ने क्रममा गलत नापी किताब र भुक्तानी बिल तयार गर्न लगाई १६ लाख ५९ हजार ९७२ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ । महतो विरुद्ध सो रकम बराबरको मागदावी सहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।