२०८० चैत्र १६ , शुक्रवार

अपराध अनुसन्धान,अभियोजन र न्याय निरुपण गर्ने निकाय बिच समन्वय आवाश्यक : प्रहरी महानिरीक्षक सिंह

सुनाखरी न्युज/ पोखरा । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनु भएको छ ।

 

कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उहाँले बताउनुभयो । ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ,’ गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आइतबार पोखरामा उहाँले भन्नुभयो । ‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’ एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेकोमा जोडदिनुभयो ।

 

नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सके उच्च मनोबलका साथ अघि बढ्ने उहाँको भनाइ थियो । सिंहले मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको अपराध अनुसन्धान गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण मुद्दा चल्ने प्रहरी कार्यालय बिच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

 

गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले पछिल्लो समय अपराधका स्वरुप फरकफरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाइ अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजनीति र भनसुनको प्रभावलाई कम गर्नसके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । अपराधका प्रकृति र प्रवृत्ति फरकफरक हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । साइबर क्राइम पनि बढ्दो भएकाले अब प्रहरीलाई प्रविधियुक्त हिसाबले अपराधको अनुसन्धान गर्न सक्षम बनाउन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

 

नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले अपराध अनुसन्धान जटिल हुँदै गएको अवस्थामा यसको समीक्षा र अनुसन्धानलाई कसरी सशक्त बनाउने विषयमा गोष्ठीमा छलफल हुनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीले फौजदारी न्याय प्रणालीका तीन खम्बा सुदृढ भएमात्रै अपराध अनुसन्धानको सार्थकता हुने भन्दै प्रहरीलाई दबाव, प्रभाव र अभावमुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अध्यारोमा बत्तीको महत्त्व भएजस्तै नेपाल प्रहरी पनि जनताका लागि बत्ती भएकाले सोही अनुसार काम गर्नुपर्ने बताए ।

 

कार्यक्रममा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यलयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरीएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।