२०८१ बैशाख ६ , बिहिवार

प्रधानन्यायाधीशको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

सुनाखरी न्युज/ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइएको छ।

 

प्रतिनिधि सभामा आइतबार महाअभियोग प्रस्तावमाथि भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो । सभामुखको प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले पारित गरेको हो। महाअभियोग प्रस्ताव दर्ता भएको पाँच महिनापछि आइतबार प्रतिनिधि सभामा छलफल भएको थियो । सत्तारूढ गठबन्धनका सांसदले प्रधानन्यायाधीश जबरा विरुद्ध गत फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता गराएका थिए।

 

समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाङफे सदस्य छन्। समितिले तीन महिनाभित्र महाअभियोग अगाडि बढाउने या नबढाउने निर्णय प्रतिनिधि सभामा सिफारिस गर्नेछ ।