२०८० चैत्र १६ , शुक्रवार

लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्न माग

सुनाखरी न्युज/ काठमाडौं- प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो ।

 

लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा परेको भन्दै आयोगको परीक्षा प्रणाली सुधारको माग गरिएको हो । सांसद डा. पुष्पाकुमारी कर्ण कायस्थले आयोगले योग्य जनशक्तिलाई सार्वजनिक प्रशासनमा सिफारिस गरेर सकारात्मक कार्य गरिरहेको भए पनि तौरतरिकामा समयानुकूल परिवर्तन हुन जरुररी रहेको औँल्याइन् “आयोगले सूचना प्रकाशित भएपछि भाइबहिनीहरू फाराम भर्न १० ठाउँमा पुग्नुपर्ने बाध्यता छ । यसले उनीहरूको महत्त्वपूर्ण समय खेर जाने र स्रोतसाधनको दुरुपयोग भएको छ,” उनले भनिन्, “आयोगको विज्ञापनको नाममा ट्युसन कक्षाको व्यापार मौलाएको छ । प्रशासकहरूको समय ट्युसनमा खर्च हुने र त्यसबाट सार्वजनिक प्रशासनमा असर परेको छ ।”

 

उनले नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीका लागि एउटै पाठ्यक्रम निर्माण गर्ने र एकैपटक परिक्षा सञ्चालन गरेर मेरिटका आधारमा भर्ना गर्नुपर्ने बताइन् ।यस्तै, सार्वजनिक संस्थाका लागि पनि एउटै पाठ्यक्रम निर्माण गर्ने र एकैपटक परिक्षा सञ्चालन गरेर मेरिटका आधारमा भर्ना गर्नुपर्नेमा उनले जोड दिइन् ।